प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने, दुवैतर्फ तयारी तीव्र

प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने, दुवैतर्फ तयारी तीव्र

दिल्लीबाहिर नजाने, १५ भन्दा सानो टोली बनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह आगामी मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमणमा जाने गरि तयारी भइरहेको छ। तीन दिनको भ्रमण छोटो र छरितो हुने गरी तयारी अघि बढाइएको हो।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणको मिति लगभग निश्चित भइसकेको छ। अहिले दुई देशबीच छलफल हुने एजेन्डा र प्राथमिकताका विषय टुंग्याउने काम भइरहेको छ।

‘नोभेम्बर २३, २४ र २५ तारिखका दिन प्रधानमन्त्री भारत जाने लगभग पक्का भएको छ। तयारी तीव्र पारिरहेका छौँ। एजेन्डागत विषयमा अहिले काम भइरहेको छ। कुन-कुन एजेन्डा हाम्रो प्रमुख प्राथमिकतामा पर्छन् भन्ने विषय टुंग्याउने चरणमा छौँ’, परराष्ट्र स्रोतले भन्यो।

तयारीमा कुनै परिवर्तन नभए प्रधानमन्त्री शाह मंसिर ७ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा दिल्लीबाहिर जाने कार्यक्रम नरहेको स्रोतको भनाइ छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते नै भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ। उक्त दिन समय नमिले ८ गते भेटवार्ता हुने सम्भावना छ।

भ्रमण टोलीलाई सानो र छरितो बनाउने सरकारको तयारी छ। टोलीमा १५ जनाभन्दा बढी सदस्य नराख्ने गरी छलफल भइरहेको छ। यद्यपि, निजी क्षेत्रका प्रतिनिधिलाई पनि समेट्ने विषयमा परामर्श भइरहेको छ।

भ्रमणको तयारीलाई तीव्रता दिन नयाँदिल्लीमा कार्यवाहक राजदूतका रूपमा रहेका सुरेन्द्र थापा पनि काठमाडौं आएका छन्। उनले परराष्ट्र मन्त्रालयका अधिकारी तथा सम्बन्धित निकायसँग भ्रमणको तयारीबारे छलफल गरिरहेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी भइरहेको पुष्टि गरेका छन्। भ्रमण टोलीको आकार र सदस्यबारे भने अन्तिम निर्णय भइनसकेको उनको भनाइ छ।

‘तयारी भइरहेको छ। सबै कुरा टुंगिन बाँकी छ। हामी टुंग्याउँदै छौँ, काम भइरहेको छ। केही दिनमै सबै कुरा आउँछ’, मन्त्री खनालले काठमाण्डुपाटीलाई भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले पनि भ्रमणको तयारी परराष्ट्र मन्त्रालयको नेतृत्वमा भइरहेको जानकारी दिएकी छन्। भ्रमण छोटो र छरितो हुने उनले बताइन्। तर भ्रमणमा सहभागी हुनेहरूको संख्या र नाम निश्चित भइसकेको छैन।

‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारी परराष्ट्र मन्त्रालयको नेतृत्वमा भइरहेको छ। तर यो भ्रमणमा सहभागी हुनेहरूको संख्या र नाम निश्चित भइसकेको छैन, भ्रमण दल सकेसम्म सानो हुनेछ’, दाहालले काठमाण्डुपाटीलाई भनिन्।

मिस्रीले पनि दिए निम्तो

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीले तीव्रता पाउनुमा भारतीय विदेश सचिव विक्रम मिस्रीको बुधबार र बिहीबारको दुई दिने नेपाल भ्रमणलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। बुधबार नेपाल आएका मिस्रीले बिहीबार प्रधानमन्त्री शाहसँग सिंहदरबारमा भेटवार्ता गरे।

भेटमा नेपाल–भारत सम्बन्ध, सीमा क्षेत्रलगायत आपसी चासोका विषयमा छलफल भएको थियो। तर छलफलको मुख्य केन्द्र प्रधानमन्त्री शाहको भारत भ्रमण र त्यसका लागि आवश्यक तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रतीक्षारत रहेको सन्देश उनले सुनाएका थिए। जवाफमा प्रधानमन्त्री शाहले भारत भ्रमणको तयारी भइरहेको बताएका थिए।

मिस्रीले प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा तथा अन्य सम्बन्धित मन्त्रालयका अधिकारी र आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका थिए। ती भेटमा प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित विषय र द्विपक्षीय सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो।

मिस्रीको यसपटकको भ्रमणमा प्रमुख प्रतिपक्षी तथा अन्य विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम भने राखिएको थिएन। परराष्ट्र मन्त्रालयले पनि विपक्षी दलका नेताहरूसँग भेटघाटको कार्यसूची नरहेको जानकारी दिएको थियो।

विगतमा नेपाल भ्रमणमा आउने भारतीय उच्च अधिकारीले प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने अभ्यास गर्दै आएका थिए। यसपटक भने मिस्रीको राजनीतिक भेटघाट प्रधानमन्त्री र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा केन्द्रित रह्यो।

प्रधानमन्त्री बनेको करिब आठ महिनापछि शाह भारत भ्रमणमा जान लागेका हुन्। यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका थिए। महासभामा उनले जलवायु न्याय, नेपालको अधिकार र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सरोकारका विषय उठाएका थिए। भारत भ्रमण भने उनको प्रधानमन्त्रीका रूपमा छिमेकी मुलुकको पहिलो महत्त्वपूर्ण द्विपक्षीय भ्रमण हुनेछ।

‘तयारी फितलो नहोस् भन्नेमा छौँ’

प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाट र परम्परागत घोषणामा मात्र सीमित नगर्ने सरकारको तयारी छ। भ्रमणमा उठाइने विषय र भारतसँग माग गरिने सहयोग परिणाममुखी हुनुपर्नेमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले जोड दिएका छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री कार्यालयबाटै तयारी फितलो नबनाउन निर्देशन आएको छ। नेपाल–भारत सम्बन्धमा लामो समयदेखि थाती रहेका विषय, सीमा विवाद र विगतका सहमति कार्यान्वयनको अवस्थालाई भ्रमणको प्राथमिकतामा राख्ने तयारी छ।

बालुवाटार स्रोतका अनुसार यसपटकको भ्रमणमा वर्षौंदेखि उठ्दै आएका विषयलाई पुनः दोहोर्‍याउनेभन्दा तिनको समाधान र कार्यान्वयनका लागि ठोस पहल गर्ने सरकारको चाहना छ।

‘सीमाको विषय र वर्षौंदेखिको कूटनीतिक सम्बन्धमा आएको दरारलाई समेट्ने कुरा छ। त्यसकारण तयारी फितलो नहोस् भन्ने कुरालाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौँ’, बालुवाटार स्रोतले भन्यो।

विगतमा नेपाल र भारतबीच विभिन्न विषयमा सहमति तथा घोषणा हुने तर कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्ति देखिएको छ। यसपटक भने नेपाली जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने उपलब्धि हासिल गर्ने गरी तयारी भइरहेको छ।

‘परम्परागत रूपमा थुप्रै घोषणा हुने तर काम नहुने प्रवृत्ति थियो। त्यसलाई मध्यनजर गर्दै काम अगाडि बढाइरहेका छौँ। साँच्चिकै परिणाममुखी र नेपाली जनताले आँखाले देख्न सक्ने किसिमको प्रगति होस् भन्ने हाम्रो चाहना छ’, स्रोतले भन्यो।

भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोग, आगामी दिनमा आवश्यक पर्ने सहायता र प्राथमिकताका परियोजनाबारे पनि सशक्त रूपमा कुरा उठाउने तयारी छ। विशेषगरी पूर्वाधार, ऊर्जा, हवाई तथा सडक सम्पर्क, व्यापार र पारवहनका विषयलाई छलफलमा समेट्ने तयारी भइरहेको परराष्ट्रका एक अधिकारीले बताएका छन्।

नेपाल-भारत सीमा समस्यालाई पनि कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ। लामो समयदेखि विवादमा रहेका सीमा क्षेत्र र दुई देशबीचको सम्बन्धमा देखिएका असमझदारीलाई संवादमार्फत सम्बोधन गर्ने नेपालको तयारी छ।

पञ्चेश्वरदेखि पारवहन सन्धिसम्म प्राथमिकतामा

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विषय पनि उठ्ने भएको छ। महाकाली सन्धिअन्तर्गत अघि बढाउनुपर्ने यो परियोजना लामो समयदेखि अल्झिएको छ। परियोजनाको विस्तृत प्रतिवेदन, लगानी, पानीको बाँडफाँट र कार्यान्वयनको मोडालिटीमा दुई देशबीच सहमति जुट्न नसक्दा काम अघि बढ्न सकेको छैन।

भारतले पञ्चेश्वर परियोजनामा राजनीतिक तथा कूटनीतिक तहबाट सहमति खोजिरहेको अवस्थामा यसपटकको भ्रमणमा त्यसबारे गम्भीर छलफल गर्ने नेपालको तयारी छ। महाकाली सन्धिसहित विगतमा भएका अन्य सन्धि तथा सम्झौताको कार्यान्वयनको अवस्थाबारे पनि समीक्षा गर्ने तयारी भइरहेको छ।

त्यस्तै, हवाई रुट, सडक तथा रेल सम्पर्क, विभिन्न विमानस्थल निर्माण र स्तरोन्नतिमा भारतीय सहयोग, व्यापार तथा पारवहन सन्धिसँग सम्बन्धित विषय पनि छलफलको सूचीमा छन्।

नेपालले लामो समयदेखि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन र गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोगका लागि आवश्यक हवाई रुटको विषय महत्त्वपूर्ण मानिएको छ। यसबारे पनि प्रधानमन्त्रीको भ्रमणमा कुरा उठाउने तयारी छ।

ऊर्जा व्यापार र जलविद्युत् आयोजनामा भारतीय लगानी तथा बजार पहुँचको विषय पनि भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्नेछन्। नेपालमा उत्पादित विद्युत् भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधार तथा नीतिगत सहजीकरणबारे छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणमा विषयवस्तु नछुटून् भनेर सम्बन्धित मन्त्रालयबाट एजेन्डा संकलन गर्ने काम भइरहेको छ। विभिन्न मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय र भारतसँग गर्नुपर्ने सहकार्यबारे आफ्नो विवरण परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन्।

एकनना मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकपछि भ्रमणको तयारी र एजेन्डाबारे थप स्पष्ट हुँदै जानेछ। ‘भ्रमणका विषयमा हामी तयारी गरिरहेका छौँ। मन्त्रिपरिषद्को बैठक बसेपछि चाँडै यसबारे थप स्पष्ट हुँदै जान्छ। सम्बन्धित मन्त्रालयले प्रधानमन्त्री भारत भ्रमणमा पुग्दा के-के काम गर्नुपर्छ भन्ने विवरण लगभग दिइसकेका छन्। छुटेका विषयमा पनि हामी काम गरिरहेका छौँ’, ती मन्त्रीले भने।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री खनाल सहभागी हुने छन्। अन्य मन्त्रीहरू भने सहभागी नहुने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ। प्रधानमन्त्रीका सल्लाहकार र निजी क्षेत्रका केही प्रतिनिधिलाई भने टोलीमा समेट्न सकिने विषयमा छलफल भइरहेको छ।

‘टोलीमा परराष्ट्रमन्त्री जानुहोला। अरू मन्त्रीहरू जाने सम्भावना देखिँदैन। प्रधानमन्त्रीज्यूकै सल्लाहकारहरू र केही निजी क्षेत्रका प्रतिनिधि समेटिन सक्नुहुन्छ। तर निजी क्षेत्रलाई समेट्ने वा नसमेट्ने भन्ने निर्णय प्रधानमन्त्री अथवा सरकारकै जिम्मेवारीभित्रको कुरा हो’, ती मन्त्रीले भने।

रविपछि बालेनको पालो

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी यसअघि नै सुरु भएको थियो। गत जेठ तेस्रो साता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा गएका थिए। पाँच दिन भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेका थिए। मोदीले लामिछानेलाई स्वागत गरेका थिए।

लामिछाने नेपाल फर्किएकै दिन परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएका थिए। त्यसक्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यतिबेलै प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि छलफल भएको थियो। त्यससँगै गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि भारत भ्रमण गरिसकेका छन्।

तर सरकार गठन भएको छोटो समयमै प्रधानमन्त्री विदेश भ्रमणमा नजाने र सरकारका प्राथमिक कामलाई अघि बढाउने भन्दै भ्रमण तत्कालका लागि स्थगित गरिएको थियो। अहिले भारतका विदेश सचिव मिस्रीको भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणापछि भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ।

सरकार र सत्तारूढ दलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भव्यताभन्दा पनि उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। विपक्षी दलहरूले पनि भ्रमण औपचारिकतामा सीमित हुन नहुने र नेपालका दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि हासिल गर्नुपर्ने धारणा राख्दै आएका छन्।

त्यसैले यसपटकको भ्रमणमा प्रधानमन्त्री शाहले भारतसँग कुन-कुन विषय उठाउँछन्, ती विषयमा कस्तो सहमति वा प्रगति हासिल हुन्छ भन्ने विषयलाई चासोसाथ हेरिएको छ।