सशस्त्रमा एआईजी बढुवा सिफारीस हुंदै,वरियतामा एक नम्बरमा रहेका अर्यालको सम्भावना बढी


काठमाण्डु-  सशस्त्र प्रहरी बलमा एआईजीको बढुवा प्रक्रिया आजबाट सुरु हुने भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले बढुवाका लागि तीन दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन जारी गरेको सूचना शुक्रबार सकिएसंगै बढुवा प्रक्रिया अघि बढ्ने भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आफु महानिरीक्षकमा नियुक्त भएकै दिन एआईजी बढुवाका लागि सूचना प्रकाशित गरेका थिए ।

सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डीआईजीहरुले प्रमाणपत्र बुझाएका छन् । डीआईजीहरु राजु अर्याल,नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाएको स्रोतले बतायो ।

सशस्त्रको एआईजीको बढुवाको बारेमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खांड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाडंले वरियताअनुसार सशस्त्रमा एआईजीको बढुवा गर्ने बताएपनी उपसभापति खड्काले भने आफ्ना जिल्लाबासी पौडेललाई एआईजी बनाउनुपर्ने अडान लिएका थिए । त्यही अडानका कारण शुक्रबार हुने भनिएको बढुवा सिफारिस समेत रोकिएको थियो ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र निर्वाचनको मुखमा सुरक्षा निकायमा वरियता मिच्दा विवाद हुने भएकाले वरियतामा अघि रहेकालाई नै बढुवा गर्न प्रधानमन्त्री देउवा र गृहमन्त्री खांडमाथि दबाव छ ।

तर, आइतबार बिहानसम्म आउंदा वरियतामा अघि रहेका अर्याललाई नै एआईजीमा बढुवा गर्ने गृहमन्त्रालयको तयारी छ । त्यसका लागि आइतबार नै बढुवा समितिको बैठक बस्दैछ ।

अहिले एआईजीमा बढुवा हुने डीआईजी नै बैशाख १९ पछी सशस्त्र प्रहरीको ४ वर्षे महानिरीक्षक हुने भएकाले पनि अर्याल,पौडेल र गौतमबीच तिव्र प्रतिस्पर्धा छ ।

सशस्त्रमा वैशाख १८ पछी को बन्ला नयां आईजीपी ?

प्रतिक्रिया दिनुहोस
Advertisement