सेनापति थापाको १ वर्ष : सेनामा समृद्धिको श्रीगणेश (भाग-३)


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र तत्काल विकृति अन्त्य र सुधारका काम सँगसँगै दीर्घकालीन प्रभाव राख्ने संरचनागत पूर्वाधार निर्माण समेत गरेका छन् । सेनापति थापाले कार्यभार सम्हालेको एक वर्षमा सेनामा समृद्धिको श्रीगणेश गरिएको छ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको प्रक्रिया र नेपाली सेनाका आन्तरिक क्रियाकलाप प्रविधिमा जोडेर दीर्घकालीन सुधारका प्रक्रिया सुरु गरिएका छन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) ले नेपाली सेनालाई प्राजिज्ञ र नीतिगत रुपमा समृद्ध बनाउने छ । राष्ट्रिय सुरक्षा सम्बन्धी राष्ट्रिय नीति बनाउन र आवश्यकता अनुसार रणनीति परिवर्तन गर्न आवश्यक देखेर नेपाली सेनाले त्यसका लागि एनडीयूको अवधारणा अगाडि सारेको छ ।  सेनाको अवधारणा अनुसार रक्षा मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एनडीयू स्थापनाको प्रक्रिया अगाडि बढाइसकेको छ ।

‘एनडीयू स्थापना प्रक्रियालाई सरकारले स्वीकृति प्रदान गरिसकेको छ । बजेट समेत विनियोजन गरिएको छ,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने । विश्वविद्यालय स्थापनाका लागि कार्यालय समेत स्थापना भइसकेको छ । विश्वविद्यालयले सेनालाई नीतिगत रुपमा समृद्ध बनाउन ठूलो भूमिका खेल्ने जानकारहरू बताउँछन् । छिमेकी भारत, चीन लगायत विभिन्न देशमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय वा कलेज पहिल्यैदेखि रहेका छन् । सुरक्षा क्षमता बढाउन प्रतिरक्षा विश्वविद्यालय अनिवार्य मानिन्छ ।

विश्वविद्यालयबाट सुरक्षा विज्ञ उत्पादन गरेर प्रतिरक्षा नीति तथा रणनीति बनाउन सकिन्छ । विश्वविद्यालयका विज्ञमार्फत् राष्ट्रिय सुरक्षाबारे समान धारणा बनाउन सकिने नेपाली सेनाले जनाएको छ । विश्वविद्यालयमा चीन सरकारले समेत सहयोग गर्ने जनाएको छ ।

प्रविधिको प्रयोग
नेपाली सेनाभित्रको कामकारवाहीलाई छिटोछरितो र प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई समेत बढावा दिइएको छ । सूचना प्रविधिमा सेनाले प्रयोग बढाउँदै लगेमा प्रविधिमा समेत सेना समृद्ध हुँदै जानेछ । सेनाले कागजरहित अवधारणालाई कार्यान्वयनमा लगिसकेको प्रवक्ता पाण्डेले बताए ।

‘जंगी अड्डा तहमा प्रविधिको प्रयोग प्रभावकारी सावित भएकाले प्रविधीकरणलाई नमूना कार्यक्रमको रुपमा सुदूरपश्चिम पृतनाका युनिट तहसम्म विस्तार गरी सफल कार्यान्वयन भएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘यसै आर्थिक वर्षमा रक्षा मन्त्रालय र सेनाका बाँकी सम्पूर्ण निकायमा सूचना प्रविधिको विस्तार गरिने छ ।’

प्रविधीकरणले प्रशासनिक कामकारवाही, तालिम लगायतमा सुधार भई मानव स्रोतसाधन तथा आर्थिक मितव्ययीतामा योगदान पुग्ने सेनाको अपेक्षा छ । सेनाले प्रविधिकै माध्यमबाट बजेट अख्तियारी दिने काम समेत सुरु गरिसकेको छ ।

सूचना प्रविधिको प्रयोगमा सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको साइबर सुरक्षामा समेत नेपाली सेना संवेदनशील रहेको छ । ‘साइबर सुरक्षाका लागि आफ्नै इन्टरनेटमार्फत डिजिटलाइजेसन सञ्चालन गरेको हुँदा साइबर सुरक्षाको दृष्टिकोणले समेत सुरक्षित छ,’ सैनिक स्रोतले भन्यो । व्यत्तिवादी नभई प्रणालीमा आधारित संगठन बनाउन समेत प्रविधीकरणले योगदान गरेको सैनिक नेतृत्वको ठहर छ ।

गर्विलो इतिहासमा समृद्ध
नेपाल पुर्खाको गौरवपूर्ण गाथा र गर्विलो इतिहासमा समेत समृद्ध रहेको छ । कुनै पनि अन्य देशको नेपालमाथि शासन नगरेको, सदैव स्वतन्त्र राष्ट्रको रुपमा रहेको नेपालको समृद्ध इतिहासलाई संस्थागत र संरक्षण गर्ने पहल समेत सेनाले लिएको छ ।

‘गर्विलो इतिहासमा नेपालको परिचय दिलाउने श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियानलाई जगेर्ना गर्नु सेनाको कर्तव्य हो,’ सैनिक स्रोतले भन्यो, ‘नेपाली सेनाले तत्कालीन किल्ला, गढी र स्थलको जगेर्ना गर्ने जिम्मेवारीबोध गर्दै एकीकरण पदमार्ग निर्माण तथा संरक्षण कार्यलाई तीब्रगतिमा अगाडि बढाएको छ ।’ एकीकरण पदमार्गको संरक्षण इतिहासलाई संस्थापन गर्न र पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण मानिएको छ ।

प्रधानसेनापति थापाको नेतृत्वमा सेनाले ऐतिहासिक समृद्धिको संरक्षणदेखि सेनाको भविष्य समृद्ध बनाउने काम सँगसँगै गरिरहेको छ । सेनाभित्र रहेका साना–साना विकृति हटाउनेदेखि ठूला–ठूला सुधारका काम भइरहेका छन् ।( सम्पादक)

सेनापति थापाको १ वर्ष : सैनिक जवान तहसम्मै उत्प्रेरणा र सुखद सञ्चार (भाग–१)

सेनापति थापाको १ वर्ष : विकृति फैलाउनेको भागाभाग, आर्थिक अनुशासनमा जोड (भाग–२)

प्रतिक्रिया दिनुहोस
Advertisement