काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहले शुक्रबार केही पत्रकारलाई पक्राउ र केहीलाई पक्रन सञ्चार माध्यमको समाचार कक्षमै प्रहरी पसेको विषयमा नयाँ खुलासा गरेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा शनिबार उनले घटनामा प्रधानमन्त्री र प्रधानमन्त्रीको टिमका कोही सदस्यको संलग्नता नरहेको दाबी गरे । तर, गृहमन्त्री सुधन गुरुङलाई भने पूर्वजानकारी रहेको उनले बताए ।
साहका अनुसार पत्रकार पक्राउ गर्नुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहमन्त्री गुरुङलाई सिंहदरबारस्थित मन्त्रालयमै भेटेर जानकारी गराएका थिए । गुरुङले पक्राउ गर्नैपर्ने भए पक्रिन मौखिक निर्देशन दिएको साहले उल्लेख गरे ।
‘प्रहरी महानिरीक्षकले केही सञ्चार माध्यमले अनुसन्धानमा रहेका घटनाको प्रमाण सार्वजनिक गर्ने र सरकार तथा प्रहरी संगठनबीच अविश्वास बढाउने खालका समाचार लगातार प्रकाशन गरेकाले पत्रकारलाई पक्राउ गर्न लागिएको जानकारी गराउनुभएको रहेछ’, शाहको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘गृहमन्त्रीले पक्राउ गर्नुपर्ने भए पक्रिनु भन्नुभएको बुझियो ।’
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले शुक्रबार मध्यराति सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूलाई औपचारिक सूचना दिन बनाइएको ह्वाट्स एप ग्रुपमा ‘प्रधानमन्त्री कार्यालयको चासो’अनुसार पत्रकार पक्राउ गरिएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भने शुक्रबार साँझै पत्रकार पक्राउ गर्नेबारे प्रधानमन्त्री कार्यालयबाट कुनै निर्देशन नदिएको र घटना थाहा पाएलगत्तै प्रधानमन्त्रीले पक्राउ परेकालाई रिहा गर्न निर्देशन दिएको प्रष्टीकरण दिएकी थिइन् ।
रास्वपा सह-महामन्त्रीसमेत रहेका शाहले पत्रकार पक्राउ र सञ्चार माध्यमका समाचार कक्षमा प्रहरीको प्रवेश गलत भएको बताएको एक नेताले जानकारी दिए । ‘जे भयो गलत भएको छ’, उनले भनेका थिए ।
शुक्रबार साँझ प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो ।
नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली पुतलीसडकस्थित नयाँ पत्रिकाको समाचार कक्षमै प्रवेश गरेको थियो ।
चौतर्फी दबाबपछि मैनालीलाई पक्राउ गर्न गएको प्रहरी पछि हट्यो । यस्तै दियोपोस्ट अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्दै प्रहरी उक्त अनालाइनको अनामनगरस्थित कार्यालय पुगेको थियो ।
नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई छलफलका लागि भन्दै प्रहरीले साइबर ब्युरोमा बोलाएको थियो ।
सत्तारुढ रास्वपासहित राजनीतिक दल, पत्रकार महासंघ, कानून व्यवसायी र नागरिक समाजको चौतर्फी दबाबपछि पक्राउ गरिएका पत्रकारलाई सोही दिन छाडिएको थियो ।


प्रतिक्रिया