निवर्तमान सभामुख महरालाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने


काठमाडौं – प्रहरीले बलात्कारको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रक्राउ गरेको छ । सभामुखको सरकारी निवासबाट महरालाई साझ ६ वजे प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी बालुवाटार पुगेको थियो ।जिल्ला अदालत काठमाडौंबाट आइतवार पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार महरालाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।

यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ । शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् ।

किटानी परेसंगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ । अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement