राजदूत लक्कीको बदनामीपछि कुटनीतिक सेवामा नैतिकता र मर्यादाको गहिरिँदो संकट


मानव तस्करीको आरोप लागेर अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेकी छिन् । उनीसँगै सवारी चालकको काम गरिसकेका वाङ्छु शेर्पाले राजदूतमाथि आरोप लगाएपछि विवाद सतहमा आएको हो ।

सञ्चारमाध्यममार्फत् आरोप सार्वजनिक भएपछि सरकारले छानबिन प्रक्रिया अगाडि बढाएको छ । स्पष्टीकरण सोध्दै बर्खास्त गर्नेसम्मको कारवाही हुनसक्ने खबरहरू सार्वजनिक भएका छन् । सँगसँगै राजदूत शेर्पाले आफूलाई कारवाहीबाट बचाउन शक्तिकेन्द्र धाउने काम पनि गरिरहेकी छन् ।

प्रारम्भिक विवरण अनुसार राजदूत शेर्पाका पतिको सम्पर्कमा रहेका वाङ्छु शेर्पालाई भनिएबमोजिम अमेरिका पठाउन नसकेपछि दूतावासमा सवारी चालकको काममा लगाइन्छ । अमेरिका पठाउने भन्दै शेर्पाबाट पटक–पटक गरी ४२ लाख रुपैयाँ लिइएको छ । अमेरिका पठाउन नसकिएपछि सवारी चालकमा राखिएका वाङ्छुलाई अवैध तरिकाले अस्ट्रेलिया भित्र्याउने काममा संलग्न गरिन्छ, जसलाई ‘मानव तस्करी’ भनिन्छ । लेनदेन नमिलेपछि र पोल खुल्ने डरले वाङ्छुलाई त्रासमा राख्न उनकी पत्नीलाई थुनामा समेत राखिएको छ ।

राजदूतका पूर्व सवारी चालक शेर्पाका आरोपको सत्यता सरकारी छानबिन समितिले जाँचबुझ गर्ला । सरकारी प्रक्रिया र सक्रियता कानूनी भएपनि शेर्पाको विवादले राजदूतमा हुनुपर्ने कुटनीतिक नैतिकता र मर्यादाको गम्भीर संकट देखाएको छ । देशको विदेशी कुटनीतिक प्रतिनिधिले नैतिकता र मर्यादाको घेरामा बस्नु पर्दैन ?

राजदूतलाई दिइने ‘महामहिम’ मानपदवी फगत औपचारिकता मात्रै होइन, यससँग शिष्टाचार, नैतिकता र मर्यादा जोडिएको छ । उच्च सम्मान पाउने राजदूतले एउटा दायरामा रहेर बस्नुपर्र्ने हुन्छ । तर पद र प्रतिष्ठा पाएपछि व्यक्तिगत लाभ र स्वार्थमा परेर नैतिकता र मर्यादाको बलि चढाउनु नैतिकपतन हुनु हो ।

देशभित्रका नियुक्तिमा हुने आर्थिक लेनदेन र भ्रष्टाचारको रोग कुटनीतिक सेवामा पनि प्रवेश हुनु बिडम्बनापूर्ण अवस्था हो । राजदूत नियुक्ति हुँदा नै बिचौलिया र मन्त्रीलाई ‘घुस’ दिनुपर्ने अवस्था रहँदासम्म कुटनीतिक सेवामा मर्यादाको कल्पना गर्न सकिएला र ? राजदूत हुँदा दिएको घुसबापत आर्थिक लाभ लिन र भविष्यमा पनि पदमा रहिरहन शक्तिकेन्द्रलाई खुशी राख्न नैतिकतालाई बिर्सिनुपर्छ । यस्तो अवस्था कुटनीतिक क्षेत्रमा क्यान्सर नै हो ।

राजदूत लक्कीको विषय प्रकाशमा आएको छ । तर प्रकाशमा नआएका तर भित्रभित्रै चलिरहेका अरु राजदूतका पनि अवैध धन्दा छन् कि ? जुन धन्दा नेपाली र नेपाल सरकारको नजरमा नआएका हुन्, तर दूतावास रहेको देशले नजिकबाट नियालिरहेको हुन सक्छ । राजदूतजस्तो सम्मानित पदमा पदासिन व्यक्तिले विदेशमा गएर देखाउने घटिया हर्कत र लोभले देशकै शीर निहुराउँछ ।

कुटनीतिक सेवाको क्यान्सर निको गर्न राजदूत नियुक्ति प्रक्रियादेखि नै सावधानी अपनाउनुपर्छ । प्रस्तावित राजदूतको कागजी योग्यता र देखावटी कार्यक्षमता सँगसँगै नैतिकता र मर्यादाको जाँच गर्नुपर्छ । पैसा, पद र प्रतिष्ठाका लागि जे पनि गर्न तयार हुने व्यक्तिलाई राजदूतमा नियुक्त गर्दा देशको शीर निश्चित नै झुक्छ ।

राजदूत लक्की शेर्पा प्रकरण एउटा घटना मात्रै होइन, प्रतिनिधि घटना हो । सार्वजनिक भएको प्रवृत्ति हो । कुटनीतिक सेवाको विकृति हो । देशको इज्जत र प्रतिष्ठालाई सोच्दै सरकारले विकृत प्रवृत्तिलाई निमिट्यान्न पार्ने गरी सावधानी अपनाउनुपर्छ ।

यो पनि पढ्नुहोस्- 

बर्खास्तीबाट बच्न शक्तिकेन्द्र धाउँदै राजदूत शेर्पा, फिर्ता बोलाउने मुडमा सरकार

राजदूत शेर्पामाथी लागेको आरोपबारे छानविन सुरु, फिर्ता बोलाउने सरकारको तयारी

राजदूतको ‘मानव तस्करी’ धन्दा : सरकारले किन ‘एक्सन’ लिएन ? बर्खास्त गर्न माग

नेपाली राजदूतमाथि गम्भीर आरोप : के रहेछ पतिपत्नीको धन्दा ?

प्रतिक्रिया दिनुहोस
Advertisement